भोजपुरको हतुवागढी गाउँपालिका लगातार दुई दुर्घटनाले शोकमा डुबेको छ। तीन दिनमा दुई दर्घटनामा १० जनालाई गुमाएको हतुवागढी शोकमा डुबेको हो।

चैत १ गते उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेर जीप दुर्घटना हुँदा मृत्यु भएका आठ मध्ये हतुवागढीका सात जना परेका थिए। शनिबार आगलागीमा हतुवागढी कै तीन बालबालिकाको मृत्यु भयो।

लगातार दुई घटनाले पालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। १ चैतमा पालिकाका सात जना बासिन्दाको मृत्यु भएपछि गाउँपालिकाले शुक्रबार पालिकामा शोक विदा दिएको थियो। शोक विदापछि कार्यलय खुल्न नपाउँदै अर्को शोक थपिएको अध्यक्ष राईले बताएका छन्।

‘हतुवागढीमा कहिलेकाही ट्याक्टर दुर्घटनामा मृत्युका घटनाहरु हुन्थ्यो, एकै पटक ठूलो क्षति भएको पहिलो पटक हो,’ उनले भने,’दुई वटा घटनाले हतुवागढी अहिले शोकमा छ।’

उनका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाएका सात जना हतुवागढीका बासिन्दा मध्ये पाँच जना हतुवागढीमा नै बस्थे। दुई जना बाहिर बस्दै आएका थिए।

हतुवागढी-७ पिप्लेमा शनिबार आगलागी हुँदा ५ वर्षीय प्रनिष कार्की, ७ वर्षकी  दीपशिखा कार्की र ३ वर्षीय दियुनिष कार्कीको मृत्यु भएको थियो। उनीहरु एकै परिवारका हुन्। बालबालिका खेलिरहेको ठाउँमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको हो। १ चैतमा उदयपुरमा बोलेर दुर्घटना हुँदा मृत्यु भएका ८ मध्ये ७ जना हतुवागढीका थिए।

प्रहरीका अनुसार दुर्घटनामा हतुवागढी गाउँपालिका-२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी-५ की ३० वर्षीया रामकुमारी राई र हतुवागढी-५ का ४२ वर्षीय किसान राईको मृत्यु भएको थियो।

दुर्घटनामा परी हतुवागढी-२ कै ३२ वर्षीया शान्ति राई, हतुवागढी-१ का १७ वर्षीय सुनील परियार, १७ वर्षीया सविना परियारलगायत ९ जना घाइते छन्।

अध्यक्ष राईका अनुसार आगलागीमा परी ज्यान गुमाएको परिवारलाई पालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत रकम र केही खाद्यान्य सहयोग गरेको छ।

सवारी दुर्घटनमा ज्यान गुमाएको परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।