अहिले एउटा भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ। गएराति सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको भिडियो बिहानदेखि नै चौतर्फी चासोको विषय बनेको छ।

विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चाकलले नर्सिङमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।

सञ्चालकले अग्रिम पैसा नदिएको भन्दै नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै निकालेकी छिन्। तर, एक महिनासम्मको पैसा होस्टल सञ्चालकलाई अग्रिम बुझाई सकेको पिडित छात्राहरुले बताएका छन्।

होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम होस्टलको पैसा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओ मार्फत सार्वजनिक भएको हो।

पीडित छात्राहरुको भनाई अनुसार होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने भन्दै अग्रिम रूपमा होस्टलको पैसा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन्। तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि कलेजमा नै होस्टल व्यवस्थापन हुने टुंगो भएकाले होस्टल छाड्दै थिइन्। तर कहिले छाड्ने भन्ने टुङ्गो नभएको भन्दै अग्रिम पैसा माग्ने क्रममा अभद्र व्यवहार गरिएको पिडित विद्यार्थीहरुलाई उदृत गर्दै विराटनगर नर्सिङ क्याम्पसका स्ववियु सभापति प्रशंसा पौडलले जानकारी दिइन्।

पीडितको निर्णय अनुसार फेरी त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि सञ्चालक विरुद्ध उजरी गर्न जिल्ला प्रहरी कार्यालय पुगेको समेत उनले जनकारी दिएकी छिन्। भिडियोमा होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा मागेको देखिन्छ। विद्यार्थीले एक, दुई दिनपछि होस्टल छाड्ने र त्यति बेलासम्मको मात्रै भाडा दिने बताएकी छन्।

होस्टल सञ्चालक रेग्मीले भने महिना दिनको भाडा नदिए अहिल्यै निस्केर जान भन्दै कुटपिट गरेको नर्सिङ क्याम्पसको स्ववियु समक्ष पीडितले बताएको अध्यक्ष पौडेलले जानकारी दिइन्।

होस्टलको रुममा तीन छात्रा बस्दै आएका थिए। उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययनरत हुन् । यो विषयमा होस्टलको सञ्चालक रेग्मिलाई बुझ्न खोज्दा उनको सम्पर्क नम्बर अफ छ भने उनले सञ्चालन गर्दै आइरहेको होस्टलको होडिङबोर्ड र सामाजिक सञ्जाल फेसबुकको एकाउण्ड डिएक्टिभ गरिएको पाइएको छ।