हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ। अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन। तर समय घर्किसकेपछि हिमपात भएको छ। कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन। यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ।
बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकामा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन्। समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे। तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन्। हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो।
उहाँले भन्नुभयो, “कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो । तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्यो । जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ ।” जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उहाँले बताउनुभयो । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनाङी जिल्ला भित्रिन थालेकाले विद्यालय, होटल पनि खुल्न थालेका छन् । जसले गर्दा अब यहाँ पर्यटक भित्रिने समय भएको छ । जाडो कम हुन थालेपछि सहज बन्दै जानेछ । तर पर्यटक तथा स्थानीयवासीलाई चिसोले हुनसक्ने स्वास्थ्यको सचेतता अपनाउन आग्रह गरेका छौँ ।” यहाँको मौसम अनुकूल बन्दै गएपछि अब पूर्वाधार निर्माणका कामले पनि गति लिने प्रजिअ लामिछानेले बताउनुभयो ।
हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ । समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्नेछ । जसले गर्दा किसानमा खुसी छाएको छ ।