चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमबार रुद्रायणी (काली देवीको)को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार)ले सो स्थानमा नाच देखाउने छन् ।
यसका लागि आज साँझ ती गुठियार (देवगण)लाई कीर्तिपुरस्थित जलविनायकमा स्वागत गरेर नाचस्थलमा ल्याइने जनाइएको छ । देवगण पैदलै ल्होंखा आउने परम्परा रहिआएको छ ।
करिब एक सय ३० वर्षपछि वि.सं. २०६८ मा सो दबुमा सिकाली नाच प्रदर्शनी गरिएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म सो नाच रोकिन पुगेको जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष पहल र नगरपालिकाद्वारा नाचका लागि आवश्यक केही रकम विनियोजन गरिएपछि सो ऐतिहासिक नाचले चन्द्रागिरिमा निरन्तरता पाएको हो ।
काठमाडौँको पश्चिम भेगको मातातीर्थको ल्होंखामा मात्र सिकाली नाच प्रदर्शनी गरिने परम्पार रहिआएको छ । नगरप्रमुख गिरीले आज ल्होंखा दबु परिसरमा निर्मित फाल्चाको उद्घाटनसमेत गर्नुभयो । नगरपालिको आर्थिक सहयोगमा सो फाल्चाको पुनःनिर्माण गरिएको हो ।
सो अवसरमा उहाँले चन्द्रागिरिको जीवन्त कला, संस्कृति तथा नाचलाई संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यसको फलस्वरुप सिकाली नाचलाई निरन्तता दिएको बताउनुभयो ।