सरकारी वकिल वैज्ञानिक प्रमाण तालिम मुख्यमन्त्री
विराटनगर, १२ माघ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फोरेन्सिक अनुसंधानबाट मात्र कुनै पनि अपराधको जड सम्म पुग्न सक्ने भएकाले यसको प्रयोग आवश्यक भएको बताए ।
विराटनगरमा आयोजना गरिएको आधुनिक समाजमा विधि विज्ञान र वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीन दिने तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले फोरेन्सिक अनुसंधानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
उनले जनतालाई न्यायको अनुभूति दिलाउन अपराध अनुसंधानलाई अझै वैज्ञानिक र आधुनिक बनाउनुपर्ने र त्यसका लागि फोरेन्सिक साइन्सको अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् ।
कोशी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सो तालिम बारे जानकारी दिदै कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले अपराधीहरु बढी आधुनिक र सीपयुक्त भईरहेको बेला अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई पनि प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
आजदेखि सुरुभएको तालिम कार्यक्रममा अभियोजनकर्ता सरकारी वकिलहरु, कानुन व्यवसायी र अपराध अनुसंधानमा खटिने प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ ।