हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ। वि.सं. २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो।
निर्माण कम्पनीले वि.सं.२०७७ मङ्सिर ११ गते सम्झौता गरि वि.सं. २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्ने निर्णय गरेको थियो। पटक-पटक थप गरेको म्याद गुजारेका कम्पनीले यही माघ ४ गते स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गरेको हो। भवन शनिबार नगरप्रमुख विमला राईले उद्घाटन गर्नुभएको छ।
स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले जानकारी दिनुभयो। आफ्नै भवन अभावमा स्वास्थ्य चौकीलाई हाल स्थानीय झोक्रे राईको घरका दुईवटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ।
स्वास्थ्य चौकीको भाडाको कोठा साँघुरो छ भएकाले कोठामा बल्लतल्ल दुईवटा मात्र कुर्सी अटाइएका छन्। एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता छ। यी सम्पूर्ण समस्यालाई मध्यनजर गर्दै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको हो।
भाडाको घरमा राख्नुअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो। गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई विसं २०७९ माघदेखि मासिक रु पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो।
बर्थिङ सेन्टर (प्रसूतिगृह)लाई वि.सं.२०७५ देखि मासिक रु चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ। साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबाङ्देल,बाहुनीडाँडा,दोर्पाचिउरीडाँडा,मङ्गलटार र बतासे स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो।

निर्माण कम्पनीले रु.सात करोड ४० लाख ८४ हजार दुई सय ९६ लगानीमा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएको थियो। हालसम्म पाँचवटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन।