विराटनगरमा आयोजना गरिएको एक कार्यक्रम बीच बुढीखोला केशलिया कोरिडोरको डिपिआर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरिएको छ ।
डिपिआर हस्तान्तरण गरे संगै पूर्व पश्चिम राजमार्गको बुढी खोला देखि भारतिय सिमा सम्म करिब २७ किलोमिटर लामो बुढीखोला केशलिया कोरिडोर निर्माण गरिने भएको छ ।
कोशी प्रदेश सरकारले गौरवको योजनाको रुपमा ल्याउन खोजेको सो बुढीखोला केशलिया कोरिडोरको विस्तृत योजना प्रतिवेदन डिपिआर तयार भएको जनाइएको छ । मुख्य रुपमा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बर्जु गाँउपालिका र बुढीगंगा गाँउपालिका भएर बग्ने केशलिया खोलाको बाढी व्यवस्थापन र सौन्र्दर्यकरण गर्ने उद्देश्यले सो कोरिडोर निर्माण गर्न लागिएको हो ।
सो कार्यक्रममा कोरिडोर निर्माणको उद्देश्य, प्रभावकारिता, प्रभावित क्षेत्र, बाढी व्यवस्थापन, सौन्र्दर्यकरण र उपयोगिता बारे कन्सलट्याण्ट महेन्द्र सुब्बाले कार्यपत्र प्रस्तुत गरेर जनाकारी गराएका थिए ।
सो कार्यक्रममा केशलिया खोलाबाट हुने क्षति नियन्त्रण गर्न तटबन्ध निर्माण गर्नुपर्ने र त्यसका लागि करिब १ अरब २७ करोड रुपैया लागत लाग्ने अनुमानित विवरण प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा कोशी प्रदेशका मन्त्रीहरु, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृतहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।