बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । 

ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । पछिल्लो समय विद्युतीय चुलोको प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । 

विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उहाँको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए ।