बेलबारी, १४ पौष । बेलबारी २, लालभित्तीमा रहेको श्री कबीर माविले एक कार्यक्रमकाबिच आफ्नो ३५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको छ । नगरपालिकाका प्रमुख दिलप्रसाद राईले आज (बिहीवार) एक कार्यक्रमकाबिच विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवशको उद्घाटन गरे ।
उक्त कार्यक्रममा २ नं वडाका अध्यक्ष कृष्णबहादुर गुरुङ, वडासदस्यहरू क्रमश ः मन्जु रिजाल, दीपक लिम्बू, विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतम सामुदायिक विद्यालयका प्रधानाध्यापक, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य नरेन्द्र बरालको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रधानाध्यापक प्रेम कार्कीबाट विद्यालय वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा विद्यालयले पूर्व प्रधानाध्यापकसमेत रहेका शिक्षक दुर्गाप्रसाद गौतम, निवृत्त शिक्षकहरू गणेशप्रसाद दाहाल, हरिमाया खतिवडालाई विदाइ तथा सम्मान गरेको छ ।
उक्त अवसरमा शैक्षिक पुरस्कार वितरणका साथै विद्यार्थीहरूको तर्फबाट सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो । कार्यक्रममा अक्षयकोषदाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा दाताहरूले राखेको अक्षयकोषबाट प्राप्त छात्रवृत्ति प्रदान गरिएको छ । प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विद्यालयले सिमित श्रोत र साधनकाबिच पनि गुणस्तरीय शिक्षा प्रदान गरेकोमा कबीर माविको सिङ्गो टिमलाई धन्यवाद दिए । प्रमुख अतिथि राईले अझ सक्रिय भएर अगाडि बढ्न पनि आग्रह गरे । साथै अभिभावकको चासोको पनि उत्तिकैको खाँचो रहेको पनि औल्याए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने विद्यालयका सहायक प्रअ ध्रुवप्रसाद नेपाल र शिक्षक संजीव धिमालको रहेको थियो ।