माेरङ । दलीय भागबण्डामा गठन भएकाे प्रज्ञा प्रतिष्ठानमा बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा काेइरालाले असहमति जनाएकी छिन् । शनिवार नगरपालिकामा बसेकाे तदर्थ समितिले विधि र प्रक्रिया मिचेर पुन : १० जना सदस्य थप्न लागे पछि उपप्रमुख थापाले असहमति पत्र बुझाउँदै बैठकबाट बाहिरेकी छिन् ।
उपप्रमुख थापाद्वारा हस्ताक्षरित असहमति पत्रमा भनिएको छ "बेलबारी प्रज्ञा प्रतिष्ठान गठन हुनु गौरवको बिषय हो । तर पनि विधि र प्रक्रियालाई लत्याउँदै बनाईएको समिति प्रति सम्बन्धित क्षेत्रकै व्यत्तित्वहरुबाट बिरोध भइरहँदा सम्बन्धित क्षेत्रका सबै महानुभावहर लाई समेटेर प्रतिष्ठान गठन गर्न सुझाव दिन चहान्छु । साथै यहि अबस्थामा बन्ने समिति प्रति मेरो पुर्ण असहमति रहेको जानकारी गराउँछु ।"
प्रज्ञा प्रतिष्ठान गठन विधि र प्रक्रिया मिचेर सम्बन्धित क्षेत्रका व्यक्तिहरूको आमभेलासमेत नगराई केही एेनकाे प्रावधानलाईसमेत लत्याउँदै तदर्थ समिति गठन भएको प्रति सम्बन्धित क्षेत्रकै व्यक्तिहरूले आरोप लगाइरहेका बेला प्रतिष्ठानलाई पूर्णता दिने तयारी रहेको छ । बेलबारीकै गरिमा जाेडिएकाे विषयलाई दलीय भागबण्डामा गठन हुन नहुने स्थानीय स्रष्टा तथा कलाकारकाे भनाइ रहेकाे छ ।
शनिबार नगरपालिकामा बेलबारीका नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा, शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईराला र प्रतिष्ठानमा चुनिएका ब्यत्तिहरु भेला भएका थिए । उपप्रमुखका साथै शिक्षा शाखा प्रमुख कोईरालाले गठन प्रक्रिया गलत भएको भन्दै असहमति जनाएका थिए । असहमतिका बिच प्रतिष्ठानका सदस्यहरु थप गरेर पूर्णता दिने प्रयास भए पछि उपप्रमुख थापाले असहमति जनाउँदै बाहिरेकी हुन् ।